प्रमुख प्रतिपक्षी दल एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अनिश्चितकालीन आमहडताल आहृवान गर्नु पार्टीको गल्ती भएकोमा आत्मालोचना गर्दै नागरिक समाज, बुद्धिजीवी र राजधानीबासीलाई गरेको गालीप्रति क्षमायाचना गर्नुभएको छ।
आमहडताल र खुलामञ्चबाट गरेको गालीको कारण माओवादीविरुद्ध राजधानीमा बढ्दै गएको जनमतलाई साम्य गर्ने र आफ्ना भनाइ राख्ने उद्देश्यले बुधबार राजधानीमा गरिएको बृहत् अन्तरक्रिया कार्यक्रममा अध्यक्ष प्रचण्डले माओवादी शान्ति प्रक्रिया र संविधान निर्माणमा अत्यन्तै लचिलो रहेको जानकारी गराउँदै माओवादी लडाकूको समायोजनको मोडेलसमेत प्रस्तुत गर्नुभयो।
नागरिक समाज, पत्रकार, व्यवसायी, बुद्धिजीवीहरूका आलोचनात्मक भनाइ सुनिसकेपछि आफ्ना विचार राख्ने क्रममा अध्यक्ष प्रचण्डले हालै सम्पन्न स्थायी कमिटीको बैठकले समेत अनिश्चितकालीन आमहडताल आहृवान गरेकोमा गल्ती महसुस गरेको जानकारी गराउनुभयो।
‘हामीले आमहडताललाई अनिश्चित भन्न हुँदैनथ्यो, यसले जनतामा नकारात्मक असर पार्यो भन्ने प्रस्ताव मैले स्थायी कमिटीमा लगेको थिएँ’ -उहाँले भन्नुभयो। आमहडताल फिर्ता किन लिनुपर्यो भन्ने जानकारी दिन खुल्लामञ्चमा आयोजित सभामा बोलेका कुराहरूले आफ्नो अझै बढी आलोचना होला भन्ने डरसमेत आफूमा भएको पनि उहाँले बताउनुभयो।
अध्यक्ष प्रचण्डले आफ्ना सेनालाई विशेष समितिमा राख्न र समायोजन र पुनःस्थापन हुनेहरूलाई जेठ महिनाभित्र छुट्टयाउन तयार रहेको र ४ महिनाभित्र समायोजनको टुंगो लगाउन माओवादी तयार रहेको बताउनुभयो। उहाँले तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग कुराकानी हुँदा ५ देखि ७ हजार सेनामा समायोजन गर्ने कुरा आफूले गरेको तर कोइरालाले ३ देखि ४ हजारसम्म सेना समायोजन गर्ने कुरा भन्नुभएको जानकारी दिँदै कोही राजनीतिमा नै जान सक्छन्, कोही पुनःस्थापनामा पर्लान्, कोही अपांग भएकाले आर्थिक प्याकेजका साथ बिदाइ हुन सक्छन्, त्यसैले अहिले नै संख्या तोक्न सकिँदैन भनिएको तर दलहरूले अहिले नै संख्या तोक भनेका कारण सहमति हुन नसकेको स्पष्ट पार्नुभयो।
दलहरूबीच बैठक बस्दा सहमति हुने संकेत देखिने तर बैठकबाट बाहिरिएपछि त्यहाँ पनि रिमोट कन्ट्रोलले काम गर्ने गरेको र सहमति ब्रि्रने गरेको प्रचण्डले बताउनुभयो। उहाँले प्रधानमन्त्री माधवकुमार नेपालले अझै १ वर्षराजीनामा नदिने सूचना आफूले पाएको भन्दै संविधानसभाको म्याद १ वर्षथप गरे पनि वर्तमान सरकार रहेसम्म संविधान निर्माण हुन नसक्ने दाबी गर्नुभयो।
‘संविधानसभाको म्याद थपौं, यही सरकार रहने, नथपांै संविधानसभाको औचित्य समाप्त भएर मुलुक मुठभेडमा जाने हुन्छ’ भन्दै अध्यक्ष प्रचण्डले संविधान निर्माण र शान्ति प्रक्रियाका लागि नै पार्टी आन्दोलन गरेको बताउनुभयो।
संविधानसभाको म्याद थप्न आग्रह
सो अन्तरक्रिया कार्यक्रममा सुझाव दिने सबैले वर्तमान सरकारले नै प्रस्ताव ल्याए पनि संविधानसभालाई बचाउन संविधानसभाको ठूलो दलको हैसियतले भूमिका खेल्न माओवादीलाई आग्रह गरेका थिए।
नागरिक समाजका अगुवा पद्मरत्न तुलाधरले इमानदारीपूर्वक वार्तामा बसी समाधान निकाल्नुहोस् र नेपाली जनताको भावना बुझेर अगाडि बढ्नुहोस् भन्दै संविधानसभालाई बचाउन आग्रह गर्नुभयो। नागरिक समाजका अगुवा दमननाथ ढुंगानाले शक्ति मात्र भएर हुँदैन, बुद्धि पनि चाहिन्छ भन्दै संविधानसभामा नजाने र प्रधानमन्त्रीका लागि संविधानसभालाई छायाँमा पार्नु हुँदैनथ्यो भन्दै माओवादीको आलोचना गर्नुभयो। उहाँले संविधानसभाको म्याद थप गर्नुबाहेक अहिले अर्को विकल्प नभएकाले वर्तमान सरकारले प्रस्ताव ल्याए पनि संविधानसभाको म्याद थप गर्नुपर्ने सुझाव दिनुभयो।
नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले प्रधानमन्त्री माधवकुमार नेपालतर्फलक्षित गर्दै एक व्यक्तिका लागि राष्ट्रलाई बन्धक बनाउन पाइँदैन भन्नुभयो। उहाँले प्रधानमन्त्रीले तत्काल राजीनामा दिई राजनीतिक सहमतिका लागि बाटो खोलिदिनुपर्ने बताउनुभयो। उद्योगपति एवम् सभासद् राजेन्द्र खेतानले माओवादी ठूलो पार्टीएकाले माओवादीको रूपमा मात्र नरहेर जिम्मेवार अभिभावकको भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो। उहाँले पनि संविधानसभालाई बचाउन माओवादीले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ भन्नुभयो।
उद्योगपति एवम् सभासद् पद्म ज्योतिले संविधान निर्माण नहुँदासम्म अन्य विषयमा ध्यान केन्द्रित नगरौं र बन्दहडताललाई कसैले पनि प्राथमिकता नदिऔं भन्नुभयो। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशीले निजीक्षेत्र बन्दहडतालको विपक्षमा रहेकाले नै आमहडताल चलिरहेका बेला विशाल शान्तिसभाको आयोजना गरिएको र हाफ पाइन्ट, चप्पल लगाउने सबैलाई सुकिलामुकिला बनाउने उद्देश्यले शान्तिसभाको आयोजना गरिएको स्पष्ट पार्नुभयो।
त्यो नेपाली जनताको आवाजलाई ‘भिजिलान्ते’ भनियो, के हो त्यो ‘भिजिलान्ते’ भनेको भनी अध्यक्ष जोशीले प्रश्न पनि गर्नुभयो। उहाँले वार्तामा नै नबस्ने भए आमहडताल किन फिर्ता गरेको भनी प्रश्न पनि गर्नुभयो।
चर्चित हास्यकलाकार मदनकृष्ण श्रेष्ठले ब्यंग्यात्मक शैलीमा ‘सुकिलामुकिला भिजिलान्ते सबैलाई पाँचतारे होटलमा स्वागत छ’ भन्दै २१औं शताब्दीका शिक्षितवर्ग विधिको शासन चाहन्छन् भनी व्याख्या गर्दैगर्दा याक एन्ड यती होटलको हलमा पछाडिपट्टि रहेका माओवादी कार्यकर्ताको ठूलो समूहले उहाँविरुद्ध हुटिङ पनि गरेको थियो। हुटिङको प्रत्युत्तरमा श्रेष्ठले त्यसो हो भने, मलाई किन बोलाउनुभएको हो भनी प्रश्न गर्नुभएको थियो। उहाँको सुझाव थियो- ‘झगडा नगर्नुहोस्, मिलेर संविधानसभाको म्याद थप गर्नुहोस् र प्रचण्ड, माधव नेपाललगायतका सबै प्रमुख नेताहरू एकान्त ठाउँमा बसी अविश्वासको वातावरणलाई हटाउनुहोस्।’
चिकित्सक, पत्रकार, प्राध्यापक, शिक्षक, वकिललगायत एक दर्जनभन्दा बढी व्यावसायिक संघसंस्थाहरूको साझा सञ्जाल पापडका प्रतिनिधिलाई भने कार्यक्रममा बोलाइएको थिएन। प्रचण्डले पटक-पटक आफ्नो बोलीलाई लिएर माफी माग्ने गर्दै आउनुभए पनि व्यवहारमा भने बारम्बार गल्ती दोहोर्याउने गर्नुभएको छ।
Home /// Dang Photo /// Article & Literature
Thursday, May 13, 2010
Subscribe to:
Post Comments
(Atom)

0 comments:
Post a Comment